स्वास्थ्य

सामुदायिक अस्पताललाई दुई करोड सहयोग

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन हुन लागेको सामुदायिक अस्पताललाई एक परिवारले करीब रु दुई करोड बराबरको जग्गा र भौतिक पूर्वाधार सहयोग गरेका छन् ।

प्रस्तावित रघुनाथ भद्रकाली स्मृति समुदायिक अस्पतालका लागि पात्लेखेतका राधाकृष्ण शर्माको परिवारले रु सत्तरी लाख मूल्य पर्ने पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । शर्माले यसअघि उक्त अस्पतालको भवन निर्माणका लागि रु एक करोड सहयोग गरेका थिए । स्थानीयवासीको रु ३० लाखको लागतमा भवन निर्माण भइसकेको अस्पताल भवन निर्माण समितिका सदस्य भरत रकालले जानकारी दिए ।

पात्लेखेतमा आइतबार प्रदेशसभा सदस्य विनोद केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा सहयोगदाता शर्माका छोरा रमेशले सहयोगको घोषणा गर्दै अस्पताल सञ्चालनको वातावरण बनाउन सहयोगका लागि आग्रह गरे । सरकारले अनुमति नदिँदा दुई वर्षअघि निर्माण गरिएको सामुदायिक अस्पतालको भवनमा हाल पात्लेखेत स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । अस्पताल सञ्चालनका लागि सरकारले अनुमति प्रदान गरेको खण्डमा शर्माले थप पाँच रोपनी जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।

शर्माले म्याग्दी बहुमुखी क्याम्पस, गलेश्वर शिवालय क्षेत्रको विकासमा ठूलो आर्थिक सहयोग गरेका छन् । शर्मा परिवारले जग्गा र भवनमा करीब रु एक करोड ७५ लाख सहयोग गरेको सदस्य रकालले जानकारी दिए । पात्लेखेतमा सामुदायिक अस्पताल सञ्चालन भएमा घतान, पात्लेखेत, वाखेत, पाखापानीका बासिन्दालाई स्वास्थ्य सेवामा सहज हुने अपेक्षा गरिएको छ ।