सूचना प्रविधि

स्यमभू, पशुपनिनाथ, बौद्ध लगायतका सात स्थानमा निःशुल्क इन्टरनेट

काठमाडौँ । आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।

कामपामा आज यहाँ आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन् ।

राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन् । करारपत्रमा भनिएको छ, हस्ताक्षर भएको मितिले ६० दिनभित्र उक्त सुविधा सञ्चालन भइसक्नुपर्नेछ । यसको अवधि पाँच वर्षको हुनेछ ।

प्रयोगकर्ताको आवश्यकता हेरी इन्टरनेटको क्षमता वृद्धि गर्नुपर्ने पनि हस्ताक्षरपत्रमा भनिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा राखे पनि अबको केही समयमा कामपाका अन्य स्थानमा पनि इन्टरनेट राख्ने तयारी रहेको जानकारी गराए ।

त्यसैगरी, कामपाका प्रशासकीय अधिकृत धनिराम शर्माले करारबमोजिम तोकिएकै समयमा वल्र्डलिङ्कले काम गर्ने कामपाले विश्वास लिएको बताए ।

वल्र्डलिङ्का निर्देशक विजयकुमार जालानले शर्तअनुसार तोकिएकै समयमा काम गर्ने विश्वास दिँदै गुणस्तरीय सेवा दिन आफू सधैँ प्रतिबद्ध रहेको बताए ।

लामो समयदेखि राख्ने तयारी रहेपनि आन्तरिक छलफल भइरहेकाले उक्त काम हुन सकेको थिएन । यसअघि कामपाले नागरिकलाई रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।