खेलकुद

डिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

विक्रम गिरी र सिद्धराज भट्ट/ धनगढी । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् ।

आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित ग¥यो ।

रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै मात्र ६१ रन बनायो । अत्तरियाले ६२ रनको विजयी लक्ष्य एक विकेट गुमाउँदै सात दशमलव तीन ओभरमा भेट्टायो ।

अत्तरियाका लागि गौरव चित्काराले अविजित ३० रन बनाए । उनले १३ बल खेल्दै तीन छक्का र दुई चौका प्रहार गरे । यस्तै सुवास खकुरेलले १९ तथा प्रेम तामाङले अविजित १४ रन बनाए । बलिङतर्फ रुपन्देहीका जितेन्द्र मुखियाले एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा रुपन्देहीका सुफयान मोहमदले अविजित २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ ‘प्लेयर अफ द म्याच’ घोषित अत्तरियाका कमलसिंह ऐरीले चार र शुभंकर उरावले तीन विकेट लिए । ऐरीले चार ओभरमा १५ रन तथा उरावले २ दशमलब २ ओभरमा एक मेडन राखी सात रन खर्चे ।

यसैगरी, अर्को खेलमा टस जितेर ब्याटिङ गर्दै महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो । विराटनगर किंग्सले १९ ओभरमा सबै विकेट गुमाउँदै १३५ रन मात्र बनायो ।

महेन्द्रनगरका लागि पुनित मेहराले अविजित ३८ रन बनाए । उनले १८ बल खेल्दै तीन छक्का र दुई चौका हाने । उनी खेलको ‘प्लेयर अफ द म्याच’समेत भए । यस्तै कप्तान विनोद भण्डारीले ३५ रन बनाए । उनले २९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । पुनित विष्टले २४, आरिफ शेखले २० र हरिशंकर साहले १९ रन बनाए ।

बलिङतर्फ विराटनगरका मञ्जित श्रेष्ठले दुई तथा शुभम कामत र पारस खड्काले एक/एक विकेट लिए । १६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन बनाए । बाबर हयातले १० बल खेल्दै ३२ रन बनाए । उनले चार छक्का र दुई चौका प्रहार गरे । अनिलकुमार साहले २३, पारस खड्काले १६ र दिलीप नाथले १० रन बनाए ।

बलिङतर्फ महेन्द्रनगरका अविनाश कर्णले तीन तथा पुनित मेहरा, भुवन कार्की र रवीन क्षेत्रीले दुई÷दुई विकेट लिए । हरिशंकर साहले एक विकेट लिए । ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगर युनाइटेडका पुनित मेहरा घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।