राजनीति

कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले नेता खड्कालाई श्रद्धान्जली दिदै यस्ता चार निर्णय गर्यो

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्बमाहामन्त्री तथा केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनले पाटी स्तब्ध भएको ठहर गर्दै देशभरका पाटी जिल्ला कार्यालयमा सात दिन आधा झण्डा झुकाउने लगायतका महत्वपूर्ण निर्णय गर्दै काँग्रेस केन्द्रीय समितिले उनको शोक मनाउने निर्णय गरेको छ ।
मूख्यसचिब कृष्णचनद्र पौडेलले बिज्ञप्ती प्रकाशन गर्दै बुंदागत रुपमा केन्द्रीय समितिले गरेका यस्ता निर्णयहरु हामीलाई प्राप्त छः-

“(१) नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथा नेपाल सरकारको गृह मन्त्रालय लगायत विभिन्न मन्त्रालयको मन्त्री पदको जिम्मेवारी सम्हाल्नु भएका श्री खुमबहादुर खड्काको २०७४ चैत्र १६ गते साँझ ५ः१५ बजे नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेता खड्काको असामयिक तथा दुःखद निधनले हामी स्तब्ध भएका छौँ ।

श्रद्धेय बीपी कोइरालाको प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील नेता खड्काले बीपी कोइरालासँगै लामो समय भारतमा निर्वासित जीवन बिताउनु भएको थियो । नेता खड्का श्रद्धेय बीपी कोइरालासँगै राष्ट्रिय एकता र मेलमिलापको नीति अन्तर्गत २०३३ पौष १६ गते स्वदेश फर्कनु भयो । आफ्नो आस्था र विश्वासका लागि जुनसुकै वलिदान गर्न तत्पर दिवंगत नेता खड्का श्रद्धेय नेताहरु— गणेशमान सिंह, सुर्वण शम्शेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवनपर्यन्त क्रियाशील रहनु भयो । दिवंगत नेता खड्का जीवनका कठिन भन्दा कठिन घडीमा पनि अदम्य साहस, दृढ निश्चय प्रदर्शन गर्न सक्ने अनुकरणीय नेताको रुपमा हाम्रो स्मृतिमा रहिरहनु हुनेछ । नेपाली कांग्रेसको संगठनलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपालमा प्रजातन्त्रको पुनस्र्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका, लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेता खड्काको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । दिवंगत नेता खुमबहादुर खड्काको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।

(२) दिवंगत नेता श्री खुमबहादुर खड्काको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक २ मिनेट मौन धारण गर्ने निर्णय गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।

(३) दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै २०७४ चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित जनसम्पर्क समितिका कार्यालयहरु बन्द गर्ने तथा शोक/श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने । साथै, ७ दिनसम्म केन्द्र लगायत पार्टी मातहतका सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गर्दछ ।

(४) नेता खड्काको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गरिनेछ । “