समाचार

प्रदूषण बढेपछि हराउँदै घडियाल गोही

चितवन । नारायणगढस्थित नारायणी नदी नजिक ५२ वर्षदेखि बसोबास गर्दै आएका पुराना पत्रकार ईश्वर जोशी नदीमा घडियाल गोही देखिन छाडेकामा चिन्ता व्यक्त गरे।

दुई दशक लामो पत्रकारिता जीवनको शुरुआती क्षणमा सोही क्षेत्रको बगरमा घडियाल गोही घाम तापेको दृश्य आज पनि उनको मानसपटलमा ताजै छ । त्यसो त उनले कालीगण्डकीमा गोहीको अण्डा संकलन गरिएको आफ्नै आँखाले देखेका छन् । दिनानुदिन मानवीय गतिविधिसँगै नदी प्रदूषण हुँदा ती दुर्लभ जलचर हराएकामा आफू चिन्तित बनेको उनले बताए । जोशीले भने “नारायणीको पुलदेखि कालीगण्डकीसम्म नै नदी छेउको बगरमा घडियाल गोही देखिन्थे । निकुञ्जले अण्डा संकलन गथ्र्यो ।” आजभोलि गोही मात्रै होइन माछा पनि देखिन छाडेको उनले बताए ।
भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्र नारायणगढ र भरतपुरको ढल सोझै नारायणी नदीमा मिसाइँदै आएको छ जुन जलचरका लागि निकै हानिकारक मानिन्छ । गत महिना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सो क्षेत्रमा गोही गणना गर्दा नारायणीको पुलबाट देवघाटसम्मका क्षेत्रमा गोही देखिएनन् ।

विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार मानवीय चाप बढेसँगै बढेको प्रदूषणका कारण यस क्षेत्रमा गोही हराएको हो । पहिले पहिले सो क्षेत्रसँगै कालीगण्डकी नदीमा पनि अण्डा संकलन गर्ने गरिएको भए पनि अहिले हराएर गएको उनले बताए ।

गोही सफा पानीमा बस्ने र बालुवामा गुँड बनाउने बताउँदै उनले पानी प्रदूषित हुनु र नदी किनारमा बालुवाको कमीका कारण गोहीका लागि आवश्यक वातावरण बन्न सकेको छैन भने।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि घडियाल प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का २०५९ सालसम्म नारायणगढको पुलबाट देवघाट हुँदै कालीगण्डकीसम्म गोहीको अण्डा संकलन गर्ने गरिएको बताउँछन् । उनका अनुसार त्यसयता गोही हराउँदै गएपछि त्यस क्षेत्रमा अण्डा भेटिन छाडेको छ ।

पानीभित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछालगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी र प्रदूषण बढ्नाले जलचरमा कमी आएको उनको भनाइ छ । खड्काले भने, “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछाजस्ता जलचरको एउटा आहारा लेउ पनि हो ।” त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उनको भनाइ छ ।

देवघाट क्षेत्रमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँलगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा गोही जस्ता जलचरमा पर्ने गरेको खड्का बताए ।
नारायणी पुलदेखि दक्षिणतर्फ वन क्षेत्र पर्ने भएकाले मानवीय गतिविधि कम हुँदा त्यस क्षेत्रमा भने गोही रहेका छन् । समयमै ती क्षेत्रमा पनि ध्यान पु¥याउन नसकेमा यस्ता महत्वपूर्ण जलचर हराउँदै जाने खड्काको चिन्ता छ । निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा गोही हुर्काएर राप्ती र नारायणी नदीमा हरेक वर्ष गोही छाडिँदै आएको छ । मानव अतिक्रमणका हिसाबले नारायणीभन्दा राप्ती गोहीका लागि बढी सुरक्षित क्षेत्र मानिन्छ ।