स्वास्थ्य

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

दमौली, तनहुँ । तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् ।

रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ । उक्त उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा पवनजंग रायमाझीले बताए । नेपाल सरकारबाट क्षयरोगको निःशुल्क उपचार गर्ने भनिए पनि दमौली अस्पातालमा परीक्षण गर्ने उपकरण नहँुदा बिरामीलाई पोखरा, चितवन, काठमाडौँ लगायतका प्रमुख शहरमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

सो मेशिनबाट परीक्षण गर्दा एउटा बिरामी बराबर रु एक हजार ७०० लाग्दछ तर दमौली अस्पतालबाट यसको निःशुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाइएको डा रायमाझीले बताए ।
क्षयरोगीको खकार परीक्षणमा उक्त उपकरणले ९९ प्रतिशत जीवाणु पत्ता लगाउने छ । हप्ताको सात दिन क्षयरोगका बिरामीले यसको सेवा लिन सक्नेछन् । उक्त अस्पताललाई ३५ श्यया थप गरी ५० श्ययाको अस्पताल बनाउने तयारी भइरहेको सो अस्पतालका चिकित्सकहरुले बताएका छन् ।