पु.समाचार

रुढीवादी परम्परा नहटेसम्म समाजको विकास हुँदैन – कायस्थ

राजविराज । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा देखिएको रुढीवादी परम्परा नहटेसम्म समाजको विकास हुन नसक्ने बताएका छन् ।

चित्रगुप्त सेवा समितिले ५० वर्ष पुगेको अवसरमा आज राजविराजमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा उनले जातीय विभेद, सामाजिक असमानता र दाइजो प्रथाले समाजको विकास हुन नसकेकाले यसको अन्त्य हुनुपर्ने बताए ।

नेपालमै पहिलो पटक सप्तरीमा चित्रगुप्त मन्दिरको स्थापना हुनुमा आफूलाई पनि गर्व महसुस भएको बताउँदै उनले समितिले समाजका हरेक क्षेत्रमा विकृति र विसंगतिलाई हटाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अतिवादी रुढीवादी परम्पराको चक्रब्यूहमा परेको समाजलाई परिवर्तन नगरेसम्म सामाजिक विकास हुन नसक्ने बताए । जातीय सहिष्णुता कायम नभएसम्म सामाजिक विकास हुन नसक्ने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य मनिष कुमार सुमनले दहेज प्रथा उन्मुलन गरेमात्र समाजको उत्थान हुने बताए ।

प्रदेशसभा सदस्य रुवी कर्णले संघीय संरचनाको आधारमा पहिचान हुनुपर्ने बताएका छन्। साथै उनले समाजमा फैलिएको दहेज प्रथासमेत अन्त्य हुनुपर्छ भने ।

कार्यक्रममा उपस्थित बिशिष्ट अतिथि, अतिथि तथा फोरम अध्यक्ष उपेन्द्र यादवसहितलाई दोसल्ला ओढाएर चित्रगुप्त समाजले सम्मान गरेको थियो ।