अन्तर्राष्ट्रिय

रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

मस्को । रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ ।

शुरूमा अमेरिकाले दुई बेलायती नागरिकमाथि रासायनिक अस्त्र हमलाको आरोप लगाएर ६० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने बताएको थियो ।

त्यसैको जवाफस्वरुप यसअघि रुसले पनि अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको हो । अमेरिकाले त्यहाँको सियाटलस्थित रूसी महावाणिज्यदूतावास बन्द गराएर कूटनीतिज्ञलाई देश छोड्न भनेको हो ।

त्यसको लगत्तै शुक्रबार फेरी अरु देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेपछि अन्य देशहरुसँग रुसको कूटनीतिक सम्बन्धमा थप दरार उत्पन्न हुने देखिएको छ ।

रुसका पूर्वकूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उनकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै अमेरिकासहितका केही देशले रुसका कूटनीतिज्ञलाई देश निकाला गरिदिएका थिए ।

रूसका पूर्वकूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उनी बेलायतमा रहेको बेला रूसमा बन्ने नोभिचोक नामक विषादीलाई नसाबाट दिइएको युरोपेली मुलुक तथा अमेरिकाको आरोप छ । स्क्रिपाल तथा उनकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस विषयमा ईयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने नेटोद्वारा जारी संक्षिप्त विज्ञप्तिमा जनाइएको छ ।

यसै विषयमा विश्वका करिब २४ राष्ट्रले एक सय भन्दा बढी रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि युरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएकोे पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

रुसी विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिका अनुसार अष्ट्रेलिया, अल्बानिया, जर्मनी, डेनमार्क, इजरायल, स्पेन, इटली, क्यानडा, लाट्वीया, लिथुआनीया, मसेडोनीया, मोल्दोवाका रुसस्थित कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरिएको हो ।

त्यसैगरी नेदरल्याण्ड, नर्वे, पोल्याण्ड, रोमानिया, युक्रेन, फिनल्याण्ड, फ्रान्स, क्रोएसिया, चेक गणतन्त्र, स्विडेन र स्टोनिया पनि विदेशी कूटनीतिज्ञलाई देश निकाला गर्ने रुसको निर्णयको शिकार भएका छन् ।