अन्तर्राष्ट्रिय

गाजा क्षेत्रमा मारिने प्यालेष्टिनी प्रदर्शनकारीको सङ्ख्या १५ पुग्यो

गाजा शहर, प्यालेष्टिनी अधिनस्थ भूभाग । गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या शनिबार १५ पुगेको छ ।

प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयले भनेको छ, “सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ भने एक हजार ४०० भन्दा बढी घाइते भएका छन् ।”

छ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह शुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको सीमापर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठूलो सङ्ख्यामा प्यालेष्टिनी प्रदर्शनकारी घाइते बनेका हुन् ।

गाजा क्षेत्रबाट प्राप्त समाचारमा भनिएको छ, इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फाएर’ द्वारा आक्रमण गरेको थियो । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली तथा अश्रुग्यासको असरले प्रभावित भएका जनाइएको छ ।

झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल पु¥याइएको थियो ।
तर इजरायली सीमा सुरक्षा बलले शनिबार एक विज्ञप्ति जारी गरी “गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्यभएर दङ्गा नियन्त्रणको उपाय अवलम्बन गरेको र केही राउण्ड गोलीसमेत चलाएको” जनाएको छ ।

राष्ट्रसंघ प्रमुखद्वारा अनुसन्धानका लागि आग्रह

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले शुक्रबार गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको उनका सहप्रवक्ता फारहन हकले एक विज्ञप्ति जारी गरी उल्लेख गरेका छन् ।

यस दःखद घटनाले प्यालेस्टिनी र इजरायली नागरिकले शान्तिपूर्ण तथा सुरक्षित भएर बाँच्न पाउने वातावरणको सिर्जना गर्न सार्थक वार्ता गरी इजरायल प्यालेस्टाइनबीच शान्ति प्रक्रियाको आवश्यकतालाई थप जोड दिएको छ, गुथ्रेसले भने ।