पु.समाचार

राजनीतिक योद्धाको राज्यको तर्फबाट उचित सम्मान हुनुपर्छ–राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तनमा योगदान पु¥याएका योद्धालाई राज्यले सम्मान गर्नुपर्ने बताएकी छन् ।

आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा रामप्रसाद राई प्रतिष्ठानको आयोजनामा यहाँ आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७४ तथा सम्मान समारोह’ कार्यक्रममा उनले राईलगायत राजनीतिक परिवर्तनमा योगदान पु¥याएकालाई राज्यले उचित सम्मान गर्नुपर्ने विचार व्यक्त गरिन् ।

राईको जन्मस्थललाई सरकारले रामप्रसाद राई गाउँपालिका राखेर सम्मान दिएको उल्लेख गर्दै उनले स्वतन्त्र सेनानीका रुपमा रहेका राईको योगदानलाई सरकारले विशेष सम्मान दिनुपर्ने बताईन् ।

राष्ट्रपति भण्डारीले विसं २००७ को राजनीतिक परिवर्तन ल्याउन राईले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्र ल्याउने श्रेय राईलाई पनि जाने छ भनिन् ।

उनले मुलुकका लागि योगदान गरेको व्यक्ति खोज अनुसन्धान गर्नुपर्ने भन्दै भनिन्, “ मुलुकका लागि योगदान गरेका र ओझेलमा परेका व्यक्तिको साहित्य र लेखनबाट खोज अनुसन्धान हुनु राम्रो हो ।”

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने बताउँदै उनले विसं २००७ मा पु¥याएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी गराए ।

कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले कविता महोत्सवमा उत्कुष्टलाई पुरस्कार वितरण गर्नुभएको थियो । महोत्सवमा ऐश्वर्य श्रेष्ठ प्रथम, सीता भट्टराई द्वितीय र बलिराज खम्बु, सागर घिमिरे र धर्मानन्द भट्ट तृतीय भएका थिए ।

यसैगरी राष्ट्रपति भण्डारीलाई प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सम्मान गरेका थिए । यसैगरी सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले मुख्यमन्त्री राई, नेकपा (एमाले)का नेता प्रदीप नेपाल, शिक्षासेवी उमेश श्रेष्ठ, साहित्यकार सचित राईलगायत १२ जनालाई सम्मान गरेका थिए ।

रामप्रसाद राई विसं १९६५ फागुन ८ गते भोजपुरमा जन्मिनुभएको थियो । उनी विसं २००८ सालमा बेपत्ता भएका थिए । विभिन्न अध्ययनले उनको राज्यपक्षबाट हत्या भएको देखाएको छ ।