स्वास्थ्य

बैतडीका १६ वडामा स्वास्थ्यचौकी नै छैनन्, बिरामी समस्यामा

बैतडी । बैतडीका ८४ वटा वडामध्ये १६ वटा वडा स्वास्थ्यचौकी नहुँदा समस्या भएको छ ।

नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए । साविकका ६८ वटा गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १६ वटामा स्वास्थ्यसंस्था छैन उनले भने, “स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।” नयाँ संरचनाअनुसार कुनै वडामा दुई वटा स्वास्थ्यचौकीसमेत परेका छन् । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा साह्रै समस्या भएको डिलासैनी गाउँपालिका– ६ का मञ्जु टेलरले बताए । उनले भने, “सिटामोलका लागि पनि दार्चुलाको गोकुलेश्वर जानुपर्ने बाध्यता छ ।”

सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि आफूहरुले सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको डिलासैनी– ६ का दीपक जोशीले बताए । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न निकै कठिन भएको दशरथचन्द नगरपालिका वडा नं ७ का वडाअध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिए । उनले भने, “नयाँ संरचनाअनुसार आफ्नो वडा स्वास्थ्यचौकी नपर्दा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ”, स्वास्थ्य चौकी नभएका वडामा गर्भवती, सुत्केरी र आकस्मिक बिरामीलाई निकै असहज हुने गरेको स्थानीयवासीको भनाइ छ । स्वास्थ्यचौकी नभएका वडामा तत्कालै स्वास्थ्य चौकीका भवन बन्ने छाँटकाँट देखिएको छैन । वडा तहमा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच रोपनी जमिन आवश्यकपर्ने भए पनि १६ वडामध्ये अहिलेसम्म चार वडाले मात्रै स्वास्थ्यको नाममा जमिन दिएको छ ।

यस्तै १० वटै स्थानीय तहमा प्राथमिक अस्पताल निर्माणका लागि १५ रोपनी जमिन आवश्यकपर्ने भए पनि तीनवटाले मात्रै जमिन उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए । शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाले स्वास्थ्यको नाममा १५ रोपनीका हिसाबले जमिन उपलब्ध गराएको उनले बताए । जमिन भएका स्थानीय तह र वडामा आगामी वर्षदेखि भवन निर्माणको काम हुने बताइएको छ ।