पर्यटन/संस्कृति

पर्यटक प्रहरी चौकी विस्तारको माग

रसुवा । पर्यटकीय पदमार्गका दुई स्थानमा पर्यटन प्रहरी चौकी स्थापना गर्न माग गरिएको छ । रसुवाको लाङटाङ पदमार्गको घोडातबेला, गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी र तामाङ सम्पदा मार्गको तातोपानी क्षेत्रमा पर्यटक प्रहरी चौकीको विस्तार गर्न यहाँका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइको आयोजनामा भएको कार्यक्रममा माग गरेका हुन् ।

स्याफ्रुबेँसीमा चार वर्षदेखि १० जनाको दरबन्दीमा पर्यटक प्रहरी चौकी स्थापना भए पनि उकालो जंगलको बाटो ३० प्रतिशतभन्दा बढी पर्यटक विनापथप्रदर्शक हिँड्ने भएकाले चौकी विस्तार र पर्यटक प्रहरीको गस्तीलाई थप तीव्रता दिन आग्रह गरिएको पर्यटन व्यवसायी सिङ्गी ढिण्डुप तामाङले बताए ।

‘पर्यटकको सुरक्षामा पर्यटक प्रहरीको औचित्यता’ विषयको अन्तरक्रियात्मक कार्यक्रममा शुक्रबार उत्तरी रसुवाको स्याफ्रुबेँसीमा भेला भएका पर्यटन व्यवसायीले पर्यटक प्रहरीले अहिलेसम्म गरेको सेवा सन्तोषजनक भएको प्रतिक्रिया आएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्री र एकाइका प्रमुख प्रहरी निरीक्षक रुपा थापाले बताए । सबै पर्यटकलाई पथप्रदर्शकका साथमा हिँडाउने व्यवस्था गराउन सहभागीले आग्रह गरेका थिए ।