सूचना प्रविधि

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ‘नमस्ते क्रेडिट’

काठमाण्डौ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच माननीय सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुभारम्भ गरे ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको नेपाल टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवा शुभारम्भ गरेको बताए । नेपाल टेलिकमका अन्य सेवाको तुलनामा कभरेज तथा ग्राहक संख्याको हिसाबले पहिलो रहेको प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकोले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धि क्षमता र गुणस्तरियता बृद्धि गर्न थप बल पुग्ने बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको गौरवशाली यात्रामा नमस्ते क्रेडिट सेवा अर्को कोशेढुंगा सावित हुने बताए । उनले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने बताउँदै यसबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने बताए ।

कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने छ । सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।

कमसेकम ३ महिना पहिले देखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने छ । कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि क्त्ब्त्ग्क् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि क्त्इए लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि क्त्ब्च्त् लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ ।

सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।