खेलकुद

दोश्रो गोदावरी खेल महोत्सव शनिबारबाट, नवराज सिलवालले उद्घाटन गर्दै

जावलाखेल । गोदावरी मार्सल आर्ट सेन्टरको आयोजनामा दोश्रो गोदावरी खेल महोत्सव आयोजना हुने भएको छ । चैत्र १७ गते देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितामा ८ खेल समावेश गरिएको छ । जसमा कराते, तेकवान्दो, ह्याण्डबल, चेस, फुटबल, रोडरेस, साईक्लिङ्ग र ब्याडमिन्टन रहेका छन् । खुला आमन्त्रण कराते प्रतियोगितामा महिला तथा पुरुष तौल समूहमा गरि २० स्वर्णका लागि ३७५ खेलाडीले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा सेन्टरका अध्यक्ष चिन लामाले बताए । लामाका अनुसार तेक्वान्दो तर्फ १४ स्वर्ण पदकका लागि उपत्यका भित्रका १८१ महिला पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै ह्याण्डबल र चेस जिल्लाब्यापी, फुटबल गोदारी नगर अन्तरक्लब, रोडरेश नगरस्तरिय, ब्याडमिन्टन जिल्लास्तरिय तथा साईक्लिङ्गको खुला प्रतिस्पर्धा गराईने समेत लामाले जानकारी गराए । ब्याडमिन्टन तर्फ पुरुष तथा भेट्रान्स जोडीको प्रतिस्पर्धा हुने छ । जसमा ८० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

ब्यवस्थापिका संसदका साँसद नवराज सिलवालले ५ किमि रेड रोसको उद्घाटन गर्दै महोत्सवको उद्घाटन गर्ने छन् । यसैगरि प्रत्येक दिन प्रत्येक खेलको उद्घाटन फरक फरक ब्यक्तिबाट हुने कार्यक्रम रहेको छ । कराते प्रतियोगिताको उद्घाटन माननिय गृहमन्त्री रामबहादुर थापाले र तेक्वान्दोको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा)ले २३ गते गर्ने कार्यक्रम रहेको छ ।

नगर भित्रका खेलाडीहरुको खेल प्रतिभाको विकास गर्ने उद्धेश्यका साथ आयोजना गर्न लागिएको खेल महोत्सवमा गोदवरी नगरपालिकका भित्रका ६ वडामा प्रत्येक दिन भिन्ना भिन्नै खेलको आयोजना गरिने छ । १५ लाख लागत रहेको खेल महोत्सवमा विजयी खेलाडीहरुलाई नगदका साथै मेडल, प्रमाण पत्रले सम्मानित गरिने छ ।