खेलकुद

खेलकुद मन्त्री जगतबहादुर सुनारद्वारा मिडिया सेन्टरको उद्घाटन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मिडिया सेन्टरको बिहीबार उद्घाटन गरेका छन् ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छुट्टै भवन निर्माण गरी स्थापना गरेको मिडिया सेन्टर उद्घाटन गरिएको हो । सोही अवसरमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

मिडिया सेन्टरमा हाल ६ वटा कम्प्युटर राखिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्टले आवश्यकता अनुसार अन्य सुविधा थप्दै जाने जानकारी दिए । उद्घाटनपछि मन्त्री विश्वकर्माले राष्ट्रिय टिम तयारीमा रहेका केहि खेलका खेलाडीलाई समेत भेटेका थिए ।

ह्यान्डबल टोली भारत प्रस्थान
दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार भारतको लखनउ प्रस्थान गरेको छ । मार्च ३१ र देखि अप्रिल ३ तारिखसम्म हुने प्रतियोगितामा १४ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सहभागी हुनेछ ।

विभागीय खेलाडीको बाहुल्य रहेको टोलीमा १२ खेलाडी विभागीय टोलीका छन् । बाँकी २ उदयपुर जिल्लाबाट रहेका छन् । नेपाली सेनाका मन्जु राउत, विष्णा बोगटी, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, दुर्गा बोहरा र कल्पना वली, एपीएफका उमा राई, बन्दना राई, पार्वती चौधरी, कविता राई, आइतलमु शेर्पा र संगीता चौधरी तथा उदयपुरका जिना राई र निशा राईले प्रतिस्पर्धा गर्नेछन् ।

व्यवस्थापकमा रामकृष्ण केसी, प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा, अफिसियलमा रत्नज्योति मानन्धर र साजकुमार आले तथा निर्णायकमा प्रकाश सुनुवार र रन्जना राई छन् ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।