कृषि

काठमाडौँ उपत्यकामा ६० प्रतिशत थोपा सिँचाइ

ललितपुर । काठमाडौंँ उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्न थालेका छन् ।एक दशकयता तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए ।

थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौँ उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उनी भन्छन्, “अहिले किसानमा पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् ।”

काठमाडौंँ उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन । थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने भट्ट बताउँछन् ।

पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्तै पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । उनी भन्छन्, “यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन ।”

एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ । नेपालमा इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइ लगायतका प्रविधि भित्र्यएका हुन ।