पु.समाचार

मजदुरलाई आवतजावत गर्ने निहुंमा भारतीय पक्षले एकपक्षीय पुल लगायो

दार्चुला । भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ ।

व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काए पछि फेरी पुल लगाएर नेपाली भुमि मिच्न खोजेको छ ।

व्यासका २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अवरोध गरेको भन्दै मंगलबार बेलुकी भारतीय पक्षका पुल भत्काएका थिए । भारतीय पक्षले केन्द्र सरकारको अनुमति लिएर मात्रै पुल लगाउन भने पछि स्थानीयवासीले उनीहरुले लगाएका पुल भत्काई दिएका थिए ।

“भारतीय पक्षले अन्तराष्ट्रिय सीमानदीको रुपमा रहेको महाकालीमाथि धमाधम पुल लगाउन मिल्ने हामीले लगाउँदा केन्द्र सरकारको अनुमति चाहिने भन्दा रिस उठ्यो, भारतीय पक्षले लगाएका ५ वटा अस्थायी पुल फाल्यौ” व्यास २ दुम्लिङ्गका बासिन्दा नरेन्द्र बुढाथोकीले भने। भारतीय पक्षले लगाएका आठ पुलमध्ये पाँच पुल भत्काएको र तीन पुल भत्काउन बाँकी रहेको उनको भनाई छ ।

भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ को ताम्पाक, नजांग, घाटीबोगड, मल्लो घाटीबोगड र वडा नम्बर १ को छाङकाङरी र बुदीमा अस्थायी काठे पुल लगाएर भारत पट्टी निर्माण भइरहेको सडकमा काम गर्ने मजदुरलाई आवतजावत गराइरहेको छ । यसअघि राप्लाका बासिन्दाले मानव बस्ती नै नभएको स्थानमा भारतीय पक्षले नेपालको अनुमति विना नै महाकाली नदीमा अस्थायी काठे पुल लगाएको भन्दै विरोध गरेका थिए । साथै उनीहरुले तल्लो दुम्लिङ्ग र माल क्षेत्रमा अस्थायी पुल निर्माणका लागि भारतीय पक्षसँग पहल गर्न नेपाली प्रशासनको ध्यानाकर्षणसमेत गराएका थिए ।

यही फागुन २१ गते भारतको पिथौरागढमा दुवै देशका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले थप दुई अस्थायी पुलका लागि अनुरोध गरेको थियो । राप्लाका बासिन्दाले तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा अस्थायी पुल राख्न खोज्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको स्थानीयवासीले बताएका छन् ।