साहित्य

चार व्यक्तित्वलाई नइ पुरस्कार

काठमाडौँ । नइ प्रकाशनले सनातन हिन्दूधर्मसंस्कृतिको सम्बद्र्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा. डा .  वेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपालको राष्ट्रियता तथा भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारका साथै भ्रष्टाचार विरोधी अभियानमा समर्पित साहित्यकार भरत जङ्गमलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ दिइने निर्णय भएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

त्यस्तै नेपाली आख्यान, नाटक र निबन्धलेखनका क्षेत्रमा प्रयोगशील विशिष्ट योगदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नेपाली साहित्यलाई गरिमाशाली तुल्याउनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत ध्रुवचन्द्र गौतमलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’ तथा गीतिकविता लेखनका माध्यमबाट नेपाली भाषालाई जनप्रिय बनाउन उल्लेखनीय योगदान गर्नाका साथै तत्कालीन समयमा वृत्तचित्र र समाचार चित्रमा सर्वोत्कृष्ट उद्घोषणद्वारा जनमन छुन सफल किरण खरेललाई ‘नइ भाजप पुरस्कार ’ दिइने भएको छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । ती चारै पुरस्कारका राशि जनही एक एक लाख छन् । शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते यहाँ ती पुरस्कार प्रदान गरिने छ ।