राजनीति

प्रतिपक्षलाई बेवास्ता गरिन्न अध्यक्ष तिमिल्सिना

काठमाडौंँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताएका छग् ।

सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उनले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले भने–लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।’’

राष्ट्रियसभाले हरेक कुरामा प्रतिनिधिसभालाई पर्खेर बस्ने भन्ने होइन भन्दै उनले समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने अठोट व्यक्त गरे ।

राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखररुपमा उठाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने छ भने ।

उनले भने–‘‘जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण होस् । राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछ । जनतालाई सुसूचित गर्ने विषयमा ध्यान दिइने छ ।’’

राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि नै आफूले नेकपा (एमाले)का साधारण सदस्य समेतबाटै राजीनामा दिएको कुरासमेत उनले सो अवसरमा जानकारी दिए ।