सूचना प्रविधि

आधुनिक प्रविधि नहुँदा ठगी गिरोह पक्रन कठिन

काठमाडौँ । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ ।अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हँुदा प्रहरीलाई समस्या भएको हो ।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला पार्न नसकेको महानगरीय प्रहरी परिसर, टेकुका मुद्दा शाखाका प्रमुख एंव प्रहरी निरीक्षक मोहनकुमार थापाले बताए।

“अनलाइन ठगीमा विदेशी नम्बरको प्रयोग बढी भएको पाइएको छ,” उनले भने । ठगी गर्न गिरोहले विभिन्न प्रविधिमार्फत विभिन्न व्यक्तिलाई तपाईंलाई यति रकम चिठ्ठा परेको छ । रकमको यति प्रतिशत कर तपाईंले यो खातामा हालिदिनुस्, तपाईंको खातामा रकम पठाइदिन्छौं भन्ने सूचना मोबाइलमा पठाउने गरेको छ ।

रकम पाउने लालसाकै कारण मानिस सजिलै लोभमा परी सूचनामा उल्लेख भएअनुरुप खातामा रकम हालिदिने गर्छन् । तर पछि आफू ठगीमा परेको थाहा पाएपछि त्यस्ता व्यक्तिले प्रहरीसमक्ष उजुरी गर्ने गरेका छन् ।

पीडितलाई पठाएको सूचनामा भएको मोबाइल नम्बरका आधारमा प्रहरीले खोजी प्रक्रिया शुरु गर्छ । विशेष गरेर ठगीमा धनी व्यक्ति नै संलग्न हुने गरेको तथ्यांक प्रहरी परिसरमा छ ।

परिसरको तथ्यांकअनुसार अनलाइन ठगी १० प्रतिशत, साधारण तथा वैदेशिक ठगी २० प्रतिशत र बैंकिङ ठगी ७० प्रतिशत छ ।

झन्झटिलो कानूनी प्रक्रिया

गिरोहसम्म पुग्न प्रविधिको अभाव त छ नै तर कानूनी प्रक्रिया झन्झटिलो भएका कारण गिरोहसम्म पुग्न थप कठिनाइ भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक शेखर खनालले बताए ।

शुरुमा पीडित पक्षले प्रमाणसहित आएर उजुरी दिएको आधारमा सूचना लिन पाउँ भनी अदालतमा सरकारी वकिलमार्फत रिट दायर हुने गर्छ । सोही रिटका आधारमा अदालतले नेपाल टेलिकम, एनसेल सेन्टर र टेरेसा टेलिकमबाट सूचना पाउन स्वीकृति दिन्छ ।

अदालतबाट अनुमति पाइसकेपछि टेलिकमबाट लिएको तथ्यांकको आधारमा योजनाकारसम्म पुग्नेगर्छ । भारतसम्म पुगेर ठगीको मध्यस्तकर्तालाई पक्रन सके पनि प्रमुख योजनाकारसम्म भने प्रहरी पुग्न सकेको छैन ।

मोबाइल फोनबाट गिरोहलाई पक्रन सके पनि सामाजिक सञ्जालबाट हुने ठगीमा गिरोहलाई समात्न नेपालमा हालसम्म पनि प्रविधिको विकास भएको छैन ।

कानूनी प्रक्रिया पूरा गर्दासम्म गिरोहसमेत भागिसकेका हुन्छन् । प्रक्रिया पूरा गर्न मात्र प्रहरीलाई एक महिना समय लाग्ने गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।