समाचार

सूर्यविनायक नगरपालिकाका प्रत्येक कार्यालयमा सिसी क्यामरा

रमेश गिरी /भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ ।

कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले हाजिर गरे कि गरेनन्, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र नौ वटा सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर गरे कि गरेनन् हेर्ने गर्छन् ।

प्रत्येक दिन बिहान १०.१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उनले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्छन् । नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भीड छ कि छैन भन्ने जानकारी पनि उनी सिसी क्यामराबाट लिने गर्छन् ।

नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिए ।

संयोजक खड्काले भने–“नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र नौ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, सबै कार्यालयको नगरपालिकासँग सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गएँ प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्नसक्ने गरी प्रविधि जडान गरिएको छ ।”

नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भीड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उनले मोबाइलमा समेत एप्स राखिएकाले उनी जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्नसक्ने व्यवस्था गरिएको बताए ।

नगरपालिकाले प्रत्येक वडा कार्यालयको राजस्व संकलन कक्षको कम्प्युटरमा ‘इ–विलिङ सिस्टम जडान गरी नगरपालिकामा उठेको राजश्व समेत सिधैँ नगर प्रमुखको कार्यकक्षबाट हेर्ने सकिने व्यवस्था गरिएको खड्काले बताए ।

नगर प्रमुख थापाले आफ्नै कार्यकक्षमा बसेर कर्मचारीको निगरानी गर्ने गरेको बताए । “१०.१५ बजेसम्म कोको कर्मचारी आएँ, आएनन्, कति बजे कर्मचारी घर गएँ, को को बिदामा छन्, कति राजश्व संकलन भयो, सेवाग्राहीको काम भए भएन निगरानी गर्ने गर्छु ।” १०.१५ बजेभन्दा ढिलो आउँने कर्मचारीको हाजिरी स्वतः रद्द हुने बताउँदै उनले कर्मचारीले गलत गरे तत्कालै कारबाही गरिने उनले बताए ।

वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका कर्मचारीले बिदा बस्नु परे नगरपालिकालाई अग्रिम जानकारी गराएर बिदा स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको मुख्य चोक चोकमा सिसी क्यामरा जडान गर्ने भएको छ ।

आफ्नो क्षेत्रको विकास र अवस्थाको जानकारी लिन सजिलो गर्न चोकचोकमा सिसी क्यामरा जडान गरिने भएको छ ।