शिक्षा

भूकम्पमा क्षति भएको विद्यालय भवन निर्माणपछि हस्तान्तरण

काठमाडौं । २०७२ सालको विध्वंशकारी भूकम्पबाट ध्वस्त भएको गोरखा र धादिङ जिल्लाका दुईवटा विद्यालयको जर्मनीस्थित दुईवटा संंस्थाको आर्थिक सहयोगमा निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।

जर्मनीको बाल सहायता संघ र एक्सन लिटल प्रिन्सको आर्थिक सहयोगमा ती विद्यालयको पुननिर्माण भएको हो । रु एक/एक करोडको लागतमा निर्माण भएको आठ/आठ कोठाको सो विद्यालयमा फर्निचर, इ–लाइब्रेरीलगायत खानेपानी तथा शौचालयको सुविधा पनि उपलब्ध गरिएको छ ।

विद्यालय हस्तान्तरणका लागि नेपालका लागि जर्मनीका महावाणिज्यदूत डा रामप्रताप थापा, जर्मनीको बाल सहायता संघकी अध्यक्ष हाइकी कुन्जे, एक्सन लिटल प्रिन्सको उपाध्यक्ष क्लाउस स्मिलसहितको आठजनाको टोली यहाँ आइपुगेको छ ।

धादिङको ठाक्रे गाउँपालिका–३ भूमेस्थानमा आयोजित एक समारोहबीच श्री महाकाली देवीस्थान आधारभूत विद्यालयमा नवनिर्माण गरिएको आठ कोठाको भवन हस्तान्तरण गरिएको छ । भूकम्पलगत्तै ध्वस्त भएको यस विद्यालयको पुनःनिर्माणपछि त्यहाँका झण्डै दुई सय विद्यार्थी राम्रोसँग पढ्न पाएका छन् । भूकम्पलगत्तै ध्वस्त भएको यस विद्यालयको पुनःनिर्माणपछि त्यहाँका झण्डै दुई सय विद्यार्थी राम्रोसँग पढ्न पाएका छन् ।

उक्त संस्थाले भूकम्पछि स्थानीय गरिब विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक, शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएको छ । २०३५ सालमा स्थापना भएको विद्यालय समुदायले चन्दा उठाएर सञ्चालन गर्दै आएकामा अहिले जर्मनी संस्थाको सहयोगबाट फर्निचर, इ–लाईब्रेरीलगायत खानेपानी तथा शौचालयको सुविधासम्पन्न बनेको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको यस गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्न नेपाल पर्यटन बोर्डले गन्तव्यस्थल घोषणा गर्दै होमस्टेको निर्माण गर्न लागेको छ ।

यसैगरीे शहिद लखन गाउँपालिका गोरखाको नाम्जुङस्थित श्री भीमसेन आधारभूत विद्यालय भवनको पनि यही चैत १३ गते एक समारोहबीच हस्तान्तरण हुँदैछ । २०३३ सालमा स्थापना भएको विद्यालय गोरखा भूकम्पमा ध्वस्त भएको थियो ।

सो संस्थाको सहयोगमा सो विद्यालय फर्निचर, इ–लाईब्रेरीलगायत खानेपानी तथा शौचालयको सुविधासम्पन्न बनेको छ । एक्सन लिटल प्रिन्स तथा बाल सहायता संघले भूकम्पछि स्थानीय गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पोशाक, शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।

नेपाल भ्रमणमा आएको उक्त टोलीले चितवनको सौराहास्थित नेपाल प्रृकृति संघको कार्यालय हाताभित्र स्थापना भएको वन्यजन्तु संग्रहालयको पनि अवलोकन गरेको छ । झण्डै २० वर्षअघि जर्मन नेपालमैत्री संघको आर्थिक सहयोगमा निर्माण गरिएको सो संग्रहालयमा अहिले नयाँ एक कोठाको पनि निर्माण गरिने भएको छ ।