समाचार

सात वर्षदेखि गलगाँडको भारी बोक्दै विश्राम चौधरी

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९, नौखरीका ६० वर्षीय विश्राम चौधरी सात वर्षदेखि गलगाँडको भारी बोक्न बाध्य भएका छन् ।

उपचार खर्च नहुँदा चौधरीले गलगाँडको भारी बोक्नु परेको हो । पूर्व कमैया रहेका चौधरीले आर्थिक अभावले गलगाँडको उपचार गराउन नसकेको बताए ।

पहिले सानै थियो उनले भने, “अहिले घाँटीमै झुण्डिन थालेको छ ।” गलगाँड ठूलो हुन थालेपछि घाँटी घुमाउन र तल माथि गर्नसमेत निकै समस्या हुने गरेको उनले बताए । दुई वर्षअघि भारतको पिलिभितमा मजदूरी गर्न जाँदा डाक्टरलाई देखाएको थिएँ उनले भने, “डाक्टरले भारतीय रु ३० हजार उपचार खर्च लाग्ने बताएका थिए, त्यो रकम जुटाउन नसक्दा त्यसपछि उपचारका लागि कतै पनि देखाएको छैन ।”

शल्यक्रिया गरेर गलगाँड झिकेर ठीक हुने भएपनि उपचार रकम नहुँदा समस्यामा परेको चौधरीले बताए ।

कामका लागि बजार क्षेत्र र गाउँमा पुग्दा सबैजनाले देखेर हाँस्ने गरेका छन् उनले दुःखेसो पोख्दै भने, “हाँस्नेहरुलाई नदेखे झैँ गरी आफ्नो बाटो लाग्नुपर्ने हुन्छ ।”

“गलगाँड घटाउनका लागि घरेलु विधि पनि हुन्छ भन्छन् तर घटाउनका लागि वैद्यको खोजी गरे पनि भेटाउनै सकिनँ”, उनले भने ।

प्याकेटवाला नून नखाएर त्यसो भएको धेरैले भन्छन्, विश्रामकी श्रीमती लक्ष्मीले भने, “खान त धेरै वर्षदेखि प्याकेटकै नून खाँदै आएका छौँ, कुन कारणले यस्तो भयो ठम्याउनै सकेका छैनौँ ।”

“कसैले थाइराइडको समस्या भन्दैछन्, केही लामखुट्टेले संक्रमण गराएर हात्तीपाइले बनाएको भनेका छन्, कसको कुरा पत्याउनु, उपचारका लागि डाक्टरलाई देखाउने पैसा छैन, सित्तैमा कसैले उपचार गरिदिँदैनन्”, उनले भने ।

भूमिसुधार कार्यालयले पुनःस्थापना गराउँदा उपलब्ध गराएको पाँच कट्ठा जग्गामा बस्नका लागि कच्ची घर बनाएका चौधरीसँग कमाइ खाने साधनका रुपमा मजदूरीमात्रै हो ।

दुई छोरा, दुई छोरी र श्रीमान्–श्रीमती गरी छजनाको परिवारको साँझ बिहानको खाना जुटाउनका लागि उनले अधियाँमा खेतमा अन्न लगाउँदै आएका छन् । यसैबाट सबै परिवारको खाना जुट्ने गरेको छ ।