पु.समाचार

जनतालाई लाभान्वित हुने योजना बनाइनेः मन्त्री बोहरा

डडेल्धुरा । प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् ।

प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणको जीवनस्तर उकास्नेखालका योजना बनाइरहेको जानकारी गराए ।

मन्त्री बोहराले प्रदेश नं ७ का अधिकांश जिल्लाका दूरदराजमा अझै पनि खानेपानीलगायत विभिन्न विकास निर्माणका कामबाट वञ्चित रहेका र अथाह समस्या रहेको बताए । यस्ता सबैखाले समस्याको समाधानका लागि प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्ने मन्त्री बोहराले जानकारी गराए ।

चुरे तथा महाभारत क्षेत्रमा जथाभावी बनिरहेका सडकको अनुगमन तथा निरीक्षणसमेत गर्ने मन्त्री बोहराले बताए । व्यवस्थित शहर र बसोबासका लागि योजना निर्माण गर्नसमेत लागिरहेको मन्त्री बोहराले पत्रकार सम्मेलनमा जानकारी गराए ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुग्नुभएका मन्त्री बोहराले पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक निर्माण गर्ने बताए ।

विकास निर्माणका कार्य हाम्रा हुन् भन्ने भावना सबैमा जागृत भएमात्रै विकास र समृिद्ध सम्भव हुने उनको भनाइ थियो । पश्चिम सेती परियोजनाको काम अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्ने पनि मन्त्री बोहराले जनाए ।

प्रदेश राजधानी र प्रदेशको नामकरणबारे पत्रकारको जिज्ञासामा मन्त्री बोहराले यसका बारेमा कुनै किसिमको छलफल नभएको र केही दिनमै यसबारेमा पनि छलफल शुरु हुने बताए । दुई महिना बितिसक्दा पनि प्रदेश मन्त्रालयमा सचिव आउन सकेका छैनन् । मन्त्रालयमा सचिव नहुँदा नीतिगत निर्णय गर्न समस्या भइरहेको मन्त्री बोहराले बताए ।