शिक्षा

निरक्षरतालाई दुई वर्षभित्र उन्मूलन गर्ने नीतिलाई कार्यान्वयन गर्ने दीशामा कटिबद्ध – प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मूलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एकजना बच्चालाई विद्यालय भर्ना गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको राष्ट्रिय युवा परिषद्को कार्यक्रममा उनले आगामी वैशाख ५ गतेका दिन विद्यालय जाने उमेरका कुनै पनि बालबालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताएका हुन् ।

“यसपालिको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरका एकजना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छु”, प्रधानमन्त्री ओलीले भने, “मन्त्री र माननीयले पनि त्यसै गर्नुहुन्छ ।”

निरक्षरतालाई दुई वर्षभित्र उन्मूलन गर्ने नीतिअन्तर्गत यसपालीको विद्यालय भर्ना अभियानलाई व्यापकता दिन लागिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, “अब दुई वर्षमा नेपालबाट निरक्षरता उन्मूलन गर्नका लागि यसपाली प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेशका मुख्यमन्त्री, मन्त्री, सदस्य र स्थानीय तहका सबै जनप्रतिनिधिले एक÷एक जना बच्चा लगेर विद्यालयमा भर्ना गराउने छन् ।”

मधेशका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकाले त्यही समुदायका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा आफ्नो रहेको छ, उनले भने – “मैले निश्चित त गरिसकेको छैन तर तराईका कुनै जातिका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मेरो छ ।”

प्रधानमन्त्री ओलीले यो अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभई विद्यालयको पढाइ पूरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पु¥याउनका लागि भएको चर्चा गर्दै “यो एउटा उत्प्रेरणा जगाउने अभियान हो” भने ।

उनले भने, “नेपाललाई अगाडि बढाउन अब सरकारले अब यस्तै उत्प्रेरक अभियान सबै क्षेत्रमा शुरु गर्छ ।”

युवालाई देश निर्माणमा लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई निर्मूल पार्न युवाको भूमिका महत्वपूर्ण हुने बताए ।

युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रधानमन्त्री ओलीको समृद्ध नेपालको सपना पूरा गर्ने एउटा महत्वपूर्ण खम्बा युवा परिषद् हुनसक्ने बताए ।

उनले भने, “त्यसका लागि एक वडा एक उद्यम, स्थानीय तह, प्रदेशसभा र केन्द्रीयस्तरमा युवा संसद् तथा स्वयंसेवक दस्ता बनाएर अघि बढ्न आवश्यक छ ।”