पु.समाचार

भावी प्रधानन्यायाधीशका लागि तीन न्यायाधीशको नाम

काठमाडौँ । न्याय परिषद्कोे बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतममध्ये तीन न्यायाधीशको अभिलेख संवैधानिक परिषद् पठाउने निर्णय गरेको छ ।

परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठमध्येका तीन न्यायाधीशहरुमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको निर्णय गरेको परिषद्का सदस्य पदम वैदिकले जानकारी दिए ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि प्रधानन्यायाधीश पद रिक्त छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नुपर्ने कानूनी व्यवस्था छ । जोशी, मिश्र र राणाले तीन वर्ष काम गरिसकेका छन् ।

नेपालको संविधानमा न्याय परिषद्ले पठाएको न्यायाधीशहरुको अभिलेखअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ ।