पु.समाचार

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा

काठमाडौँ । एक दशकपछि काठमाडौँ उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो ।

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आएपनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन ।

नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गरे ।

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ ।

प्रालिका इन्जिनियर सिद्दिक अन्सारी व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ती निर्माण गरिएको बताउछन् । “व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ,”– उनी भन्छन् । व्यस्त समयमा अझै समय घटाउन सकिने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा सडक विभागबाट बत्ती बनाउने जिम्मा भर्खरमात्र महानगरपालिकाले पाएको भन्दै यसको औचित्य र आवश्यकता हेरेर अरु स्थानमा थप्ने बताउछन् । “पहिले बनाएको बत्तीले कत्तिको काम गर्छ त्यो हेरेर अरु बत्तीहरु क्रमशः निर्माण गर्दै लैजान्छौँ,”– उनले भने ।

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि रु १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि रु २५ लाख लागत लागेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल ट्राफिक बत्तीको सुरुवातसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहज हुने बताउछन् । “प्रविधिको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने र काममा समेत सहज आउनेछ,”– उनले भने ।

महाशाखाका प्रमुख खनाल अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती लैजाने गरी सबै निकायसँग महाशाखाले समन्वय गर्ने बताउछन् ।

महाशाखाले ललितपुरका विभिन्न चोकहरुमा समेत ट्राफिक बत्ती राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको छ । केही दिनभित्रै ललितपुरमा समेत ट्राफिक बत्ती सञ्चालनमा आउने महाशाखाले जनाएको छ ।