उर्जा

नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । नवीकरणीय ऊर्जाको विकासलाई उत्प्रेरणा दिन यही चैत १५ देखि नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा काठमाडौँ विश्वविद्यालयको अगुवाइमा हुन लागेको सो सम्मेलनमा इन्टरनेशनल इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स पावर एण्ड इनर्जी सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।

सम्मेलनमा नेपालसहित जर्मनी, संयुक्त अधिराज्य, भारत, बंगलादेश, पाकिस्तान, चीन तथा अमेरिकासहित २५ मुलुकका ३०० प्रतिनिधिको सहभागिता रहने आयोजकले बताएको छ ।

सम्मेलनमा वायु, बायोमास, सोलारजस्ता विभिन्न नवीकरणीय ऊर्जाको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने काठमाडौँ विश्वविद्यालयका एशोसियट डिन डा रमेश मास्केले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनमा विभिन्न विज्ञका ९० कार्यपत्र प्रस्तुत हुनेछ ।

नेपालमा नवीकरणीय ऊर्जाको खपत चार प्रतिशतभन्दा कम रहेको र यो खपतलाई बढाएर ग्यास तथा बिजुली तथा दाउराको खपतमा कम गर्नुपर्ने डा मास्केले बताए ।