राजनीति

सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

पोखरा । प्रदेश नं-४ को आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गरिएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्दै प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयकको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरू मित्रकुमारी गुरुङ, भगवतप्रकाश मल्ल, मधुमाया अधिकारी, कृष्ण थापा, हरिशरण आचार्य, रोशन गाह मगर र दोबाटे विश्वकमाले आर्थिक पारदर्शिता आवश्यक रहेको बताउँदै आन्तरिकरुपमा हुने आर्थिक अनियमिततालाई नियन्त्रण गर्न नसक्दासम्म प्रदेशको समृद्धि सम्भव नहुनेमा जोड दिए ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गरिएको विधेयक सम्बन्धमा प्रदेशसभा सदस्यहरू इन्द्रलाल सापकोटा, कुमार खड्का, दीपक थापा, टेकबहादुर घर्तीमगर, धनमाया पोखरेल लामा, इन्द्रधारा विष्ट, ललितकला गुरुङले प्रदेशसभा सदस्यको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्यहरू कृष्णबहादुर थापा, ओमकला गौतम, विनोद केसी, कृष्ण थापा, हरिशरण आचार्य, जुनादेवी नेपाली, मनकुमारी गुरुङले सेवा सुविधाका सम्बन्धमा विधेयकमा रहेका विभेदलाई हटाउनुपर्ने धारणा राखे ।

बैठकले प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विचार गरियोस् भन्दै राखिएको प्रस्तावमा छलफल भई सभाले सर्वसम्मत स्वीकृत गरेको छ ।

छलफलका क्रममा प्रदेश सभासदस्यहरू मीनप्रसाद गुरुङ, विष्णुप्रसाद लामिछाने, दीपक कोइराला, पियारी थापा, हरिशरण आचार्य, पुष्पा केसी भण्डारी मेखलाल श्रेष्ठले प्रदेश सरकारका काम कारबाही अघि बढाउन विधेयकको आवश्यकता रहेकामा जोड दिए ।

आजको बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि सोमबार गठित समितिमा तीनजना सदस्य थप गरेको छ । थपिने सदस्यहरूमा सावित्रा राना, मधुमाया अधिकारी र सरिता गुरुङ छन् । प्रदेशसभाको अर्को बैठक आगामी चैत १६ गते शुक्रबार दिउँसो ४.०० बजे बस्नेछ ।