पु.समाचार

प्रवलीकरणको विशेष अभियान सञ्चालन गरिने

भीष्मराज ओझा/ काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त घरको प्रवलीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९९१ निजी घर प्रवलीकरण गर्ने सूचीमा छन् । प्रवलीकरणलाई अगाडि बढाउन विकास साझेदार संस्था डिएफआइडी, युएनओपिएस तथा विल्ड चेञ्जले सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

यी तीन संस्थाबीच आगामी दुई वर्षभित्र दुई हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रवलीकरणको तालीम दिने सहमति भएको छ । तालीमका क्रममा एक हजार भूकम्प प्रभावितको क्षतिग्रस्त घर प्रवलीकरण हुनेछ ।

त्यस्ता तालीमका क्रममा स्थानीय सरकारको सिफारिशमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरसमेत प्रवलीकरण गरिने छन् । युएनओपिएसले प्रवलीकरणसम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेश गरिसकेको छ ।

प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिइ एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिइनेछ ।

प्रवलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, युएनओपिएस, डिएफआइडी तथा विल्ड चेञ्जका अधिकारीले प्रवलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् ।

यसलाई चैत तेस्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए । पाठ्यक्रम निर्माण भएपछि विसं २०७५ वैशाख पहिलो सातादेखि एकसाथ चार स्थानमा प्राविधिक कर्मचारीलाई प्रवलीकरण तालीम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ । डकर्मीको तालीम पनि साथसाथै आयोजना गर्ने प्राधिकरणको योजना छ ।