समाचार

पुराना दुई दमकल बिग्रिएपछि दमकल अभाव

चितवन । सुख्खा मौसमसँगै दैनिकजसो आगलागी हुने गरे पनि जिल्लाका स्थानीय तहमा आगो निभाउनका लागि दमकल अभाव भएको छ ।
भरतपुर महानगरपालिकामा रहेका २० वर्ष पुराना दुई दमकल बिग्रिएका छन् । महानगरपालिका दमकल शाखाका प्रमुख देवेन्द्र रेग्मीका अनुसार एउटा दमकल छ महिनादेखि थन्किएको छ भने अर्को आइतबार साँझदेखि बिग्रिएको हो । छ महिनाअघि थन्किएको जर्मन मर्सिडिजको पाँच हजार लिटर क्षमताको दमकलको क्लज सिलिण्डरमा समस्या देखिएको छ जसको पार्टपुर्जा पाउन कठिन भएको उनले बताए ।
अर्को चार हजार क्षमताको भारतीय टाटा कम्पनीको २१ वर्ष पुरानो दमकल चल्ने र बिग्रने भइरहेको छ । शनिबार साँझ बिग्रिएको दमकल आज बन्ने सम्भावना रहेको रेग्मीले बताए । उनका अनुसार राप्तिवारीको पूरै चितवन र गैँंडाकोट क्षेत्र सोही दमकलले धान्नुपर्छ ।

माडी नगरपालिकामा एउटा दमकल छ । राप्तिवारीको एक महानगरपालिका, चार नगरपालिका र एउटा गाउँपालिकालाई एउटै पुरानो दमकलको साहाराले आगो निभाउनुपर्ने बाध्यता छ । महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भारत सरकारले चार दमकल दिने आश्वासनपछि त्यसकै पर्खाइमा रहेको बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पूर्वी चितवनका चार नगरपालिकाका लागि दुई दमकल मन्त्रालयसँग माग गरिए पनि आइनसकेको बताए ।

गर्मी मौसमसँगै आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी कमजोर देखिएको जिल्लावासीको गुनासो छ । सुख्खा मौसममा दैनिक दुईतीन ठाउँमा सानाठूला आगलागीका घटना हुने गरेका छन् ।