समाचार

काठमाडौँमा पनि लस्सीको व्यापार बढ्दै

काठमाडौँ, । ‘आहा १ कस्तो मिठो लस्सी ११ ’– इन्द्रचोकमा लस्सी पसलमा एक गिलास चिसो लस्सी पिउँदै गुरुप्रसाद भण्डारीले भने ।

काठमाडौँमा गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै गएको छ । गर्मी बढेसँगै दहीमा पानी र चिनी मिसाएर लस्सी (मही)बनाउने पसलमा उपभोक्ताको भीड बढ्न थालेको छ ।

प्रतिगिलासको रु ४० देखि रु ८० पर्ने यस्तो लस्सी पसल काठमाडौँका चोकचोकमा देख्न पाइन्छ । काठमाडौँमा खसी बजारमा लस्सी बिक्री गर्दै आएका सुमन मेहता भन्छन्– जाडो याममा ठप्प रहेको चिसोको बिक्री विस्तारै गर्मी लागेसँगै बढ्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले कामको खोजीमा लाग्दा थाकिसकेका मेहताले एउटा साइकलमा पानीदेखि लस्सी बनाउन चाहिने सबै थोकको व्यवस्था गरी घुमन्ते व्यापार गर्दै आएको पनि पाँच वर्ष नाघिसकेको छ ।

स्तरीय पसलमा भन्दा सस्तोमा लस्सी बनाउने भएकाले उक्त व्यवसायबाटै घरव्यवहार चलाउन उनलाई सजिलो भएको छ । उनले भने–थोरै लगानीबाट पनि दैनिक रु ३०० देखि बढीमा रु ९०० सम्म आम्दानी हुन्छ ।

भारतीय उपमहाद्वीपमा चलनचल्तीमा आएको विश्वास गरिएको लस्सी विशेष गरी गर्मी क्षेत्रमा पिउने गरिन्छ । भारतीय उपमहाद्वीपमा लस्सी बनाउँदा नून, मसला तथा फलफूलको पनि प्रयोग गरिन्छ । कतिपय क्षेत्रमा स्वीट लस्सीको नाममा चिनी हालेर लस्सी खाने गरिन्छ ।

बंगलादेशमा लस्सीमा नुन हालेर खाने प्रचलन रहेको छ । पाकिस्तानमा घरघरमा नै लस्सी खाने प्रचलन छ । त्यहाँ पनि नून राखेर लस्सी पिउने गरिन्छ ।

लस्सी झण्डै क्राइष्ट जन्मनुभन्दा १००० वर्ष अघिदेखि प्रयोगमा आएको जनविश्वास रहेको छ । नयाँ बसपार्कमा लस्सी पिइरहेका उमेश बुढाथोकी भन्छन्– जाडोयाममा मलाई त्यति लस्सी खान मन पर्दैन, तर गर्मीयाममा कोक, फयान्टा जस्ता पेय भन्दा लस्सी नै मनपर्छ । पेयपदार्थको हिसाबले लस्सी स्वास्थ्यबद्र्धक पनि छ ।

उनले भने–अन्य मुलुकमा जस्तै नून राखेरभन्दा चिनी राखेर बनाइने लस्सी नै मनपर्छ । अर्का उपभोक्ता जुनु पण्डित भँछन्–विशेष गरी भारत र नेपालका तराईमा पाइने लस्सी हाल आएर काठमाडौँमा पनि लोकप्रिय भएको छ ।