साहित्य

नेपाली र अंग्रेजी भाषा ‘हाम्रो नेता यस्तो होस्’ बजारमा

काठमाडौँ । पर्यटन व्यवसायी कर्ण शाक्यले लेखेको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ । मुलुकमा प्रजातन्त्र आएको करीब सात दशक भए पनि राजनीतिक अधिकार सबै जनताले उपयोग गर्न नसकेको, जनताको जीवनस्तर सुधार हुन नसकेको, नेताहरु नसुध्रेको र चुनावमा राम्रो नेता निर्वाचित गर्न नसक्नु जनताको कमजोरी रहेकोजस्ता विषयलाई शाक्यले लिपिबद्ध गरेका छन् ।

कृतिमा नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वकोसन्देशमूलक भनाइ समावेश गरिएको छ । यहाँ आज आयोजित कार्यक्रमम नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संयुक्त रुपमा कृतिको विमोचन गरे । सो अवसरमा नेता शाक्यले विविधताले भरिएको नेपाली समाजका विभिन्न संस्कृतिभित्र विकृति आउन थालेकामा चिन्ता व्यक्त गर्दै कृतिले नेपाली समाजलाई अनुशासित र मर्यादित बनाउन नेतृत्व वर्गलाई प्रेरणा दिने बताए ।

नेता थापाले समाज परिवर्तनका लागि क्रियाशील नेताहरुले सिक्नुपर्ने महत्वपूर्ण अनुभव र सन्देश पुस्तकमा रहेको विचार राखे । पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले कामको प्रभावकारितालाई उमेरले नछेक्ने सन्देश शाक्यले कृतिमार्फत दिएको बताए । लेखक शाक्यले मुलुकमा विभिन्न स्रोत र साधन पर्याप्त भए पनि त्यसलाईसदुपयोग गर्न नसकेका कारण देश विकास हुन नसकेको विचार व्यक्त गरे ।