राजनीति

राज्य व्यवस्था सफल पार्न राजनीतिक तालमेल आवश्यकः मुख्यमन्त्री पोखरेल

नेपालगन्ज । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय राज्य व्यवस्था सफल बनाउन राजनीति तालमेल आवश्यक भएको बताएका छन् ।

नेपालगन्ज रंगशालामा निर्माण हुन लागेको खेलाडी शुटिङ रेन्जको आज शिलान्यास गर्दै उनले भने – “खेल प्रतियोगिमा सफलता पाउन खेलाडीबीचको तालमेल जसरी अपरिहार्य मानिन्छ, मुलुकको राजनीतिक व्यवस्थालाई सफल बनाउन त्यसैखाले आपसी तालमेल चाहिन्छ ।”

मुख्यमन्त्री पोखरेलले संघीय, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयबाट मात्र जनताको विकास तथा मुलुकको समृद्धिको मार्ग प्रशस्त हुनेमा जोड दिदैं “राजनीतिमा प्रतिस्पर्धा हुनुपर्छ, तर त्यो प्रतिस्पर्धा लोकहित र देशहितका लागि हुनुपर्छ, प्रतिस्पर्धाको आधार हामीले राजनीतिको स्थायित्व, सुशासन र विकासलाई बनाउनुपर्छ,” भने ।

क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले आगामी वर्षको मंसिर महिनामा नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई तोकिएको मितिमा सञ्चालन गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य, समन्वय र सहयोगको अपेक्षा गरिएको बताए ।

सो अवसरमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका खेल नेपालगन्ज, कोहलपुर बर्दिया र दाङमा सञ्चालन हुने जानकारी गराइयो ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने रंगशाला, पौडी पोखरी, शुटिङ रेन्ज, भारोत्तोलन एकेडमी र क्रिकेट मैदानको निर्माण कार्य अहिले दु्रत गतिमा भइरहेको समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए ।

अञ्चल अस्पताल सुधारका लागि ध्यानाकर्षण
नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको समग्र सुधार एंव व्यवस्थापनका लागि आज मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण गराइएको छ ।

भेरी अञ्चल अस्पताल विकास समिति कर्मचारी युनियनले मुख्यमन्त्रीलाई भेटेर अस्पताल सुधारका लागि ध्यानाकर्षण गराएको हो ।

कर्मचारीको वृत्ति विकास, अस्पतालको प्रभावकारी व्यवस्थापन, अत्याधुनिक मेसिन जडान तथा सञ्चालनमा भएको लापरबाही, आर्थिक अनियमितता र अस्पतालको सेवा प्रवाहलगायत विषय समेटेर ध्यानाकर्षणपत्र बुझाइएको हो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अस्पतालको समग्र सुधारका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीले पनि आफ्नो अस्पतालप्रति जिम्मेवार हुनुपर्छ भने ।