खेलकुद

मदन भण्डारी स्पोर्टस एकेडेमी सेमिफाइनलमा

बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा यहाँ जारी मोफसलको सर्वाधिक राशिको तेस्रो मदन भण्डारी नक आउट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आजको खेलबाट मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल रामनगरस्थित मानवज्ञान माविको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै आयोजकले अन्तिम ४ मा स्थान पक्का गरेको छ ।

खेलको १४ औँ मिनेटमा आर्मीका विवेक बस्नेतको गोलमार्फत अग्रता लिएको आर्मीमाथि दोस्रो हाफमा आयोजक हावी भएको थियो । आयोजक टोलीका विदेशी म्याक्सले ६२ औँ र ६७ औँ मिनेटमा लगातार दुई गोल गरे भने अर्का विदेशी अब्बा ७५ औँ मिनेटमा गोल गर्न सफल भएका थिए ।

अब आयोजक थ्री स्टार क्लब र हिमालयन एफसी मलेसियाबीच हुने खेलको विजेतासँग यही चैत १६ गते सेमिफाइनल हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ ।