समाचार

मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

विराटनगर । प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गरे। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

समारोहमा प्रदेश प्रमुख प्रा डा गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थिति थियो ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई प्रदेश नं १ को मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गरिएको थियो ।

वरिष्ठ अधिवक्ता आचार्यले २०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापक रहेका थिए। २०४६ सालमा अधिवक्ता हुनुभएका आचार्य नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसकेका छन् ।