समाचार

बाघको आक्रमणबाट मृत्यु

हेटौँडा । मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुई जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।