समाचार

विदेश नीति सन्तुलित रहने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भने, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।”
प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिलो बनाउँदै लैजाने बताए । नेपालले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको जानकारी पनि उनले दिए।

नेपालमा भएको परिवर्तन र शान्तिलाई दख्खल दिने विषयमा सह्य नभएको बताउँदै उनले भने,“ सामाजिक सम्बन्धलाई खलबल्याउने प्रयास सैह्य छैन ।” प्रधानमन्त्री ओलीले विश्वमै कायम रहेको असमानता तत्काल अन्त्य नभए पनि न्यूनीकरणमा पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै भेदभाव भने अन्त्य गरेरै छाड्ने बताए।

पछिल्ला दिनमा नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै उनले भने, “हामी लगानीमैत्री छौंँ, लगानीका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौंँ ।” अर्को प्रसङ्गमा उनले वाम पार्टीबीचको एकता देशको परिवर्तन र समृद्धिसँग जोडिएको बताउँदै भने,“ वाम एकता राष्ट्रिय एकतासँग जोडिएको विषय हो, नेपालको यस परिवर्तनलाई विश्वले खुशीसाथ गृहण गरेको छ, स्वीकारेको छ ।”

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित रुपमा विस्तार गर्दै लैजाने विश्वास दिलाए । उनले चीन नेपालमा लगानी ल्याउने ठूलो राष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल–चीन सम्बन्ध प्रगाढ रहेको र चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको बताउँदै आगामी दिनमा सरकार एवं जनतासँगको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन–नेपाल सम्बन्धलाई विस्तार गर्दै सहकार्य अगाडि बढाउनका लागि बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नयाँ अवसर भएको बताए । नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्टरनेशनल कन्सर्न सेन्टरका अध्यक्ष एवं विमोचित पुस्तकका सम्पादक डा अञ्जान शाक्यले नेपाल–चीनबीचको सम्बन्धलाई विविध क्षेत्रबाट हेरिनुपर्नेमा जोड दिए ।

पुस्तकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री कोइरालासहित छ पूर्वराजदूतलगायतका परराष्ट्रसम्बन्धी २५ लेख समाविष्ट छन् । इन्टरनेसनल कन्सर्न सेन्टरले प्रकाशनमा ल्याएको ३७२ पृष्ठको पुस्तकको मूल्य रु एक हजार छ ।