कृषि

घिउको मूल्यमा कमी

काँकडभिट्टा, झापा । झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले घिउ प्रतिकिलो रु ६५० मा बिक्री भइरहेको छ ।

एनएमसीले संकलित दूध स्थानीय बजारमा मात्र खपत हुन नसकेपछि पोखरा र चितवनमा समेत बिक्री गर्न थालेको छ । बजार नपाएपछि उत्पादकले मूल्य घटाएर घिउ बेच्न थालेका छन् ।

दैनिक १५ हजार लिटर दूध संकलन गरिरहेको एनएमसी डेरीले दैनिक करिब १५० किलो घिउ बिक्री गर्दैआएको उक्त डेरीका बजार प्रबन्धक नवराज अधिकारीले बताए ।

जिल्लाको अर्को ठूलो डेरी ऋतिकाले घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्दैआएको छ । “हामी पहिले पनि यही मूल्यमा घिउ बेचेका थियौँ,” बजार व्यवस्थापक केशव चिमरियाले भने । ऋतिका डेरीले दैनिक करिब एक सय किलो घिउ बेच्दै आएको छ । झापा पछिल्लो समय दूध, घिउ, दही, पनिरलगायत वस्तुमा आत्मनिर्भर बन्दै गएको छ ।