राजनीति

दुवै सदनको संयुक्त बैठक चैत १५ गते

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत १५ गते बस्ने र उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने जानकारी दिए । दुवै सदनको संयुक्त रुप संघीय संसद् हो ।

प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते भएको थियो । दुवै सदनको पहिलो बैठक छुट्टाछट्टै रुपमा गत फागुन २१ गते बसेका थिए ।

प्रतिनिधिसभामा अध्यादेश पेश

प्रतिनिधिसभाको आजको बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश भयो ।

संसद्को आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले उक्त अध्यादेश पेश गरेका हुन् ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सांसद रवीन्द्र अधिकारीको सट्टामा रामवीर मानन्धरलाई राखिएको छ । सभामुख महराले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सदस्यको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १६ गते दिउँसो १ बजे बस्नेछ ।