समाचार

बाढीपीडित सहयोग कार्यक्रम सम्पन्न

काठमाडौँ । गत वर्षात्को समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रमबाट तराईका सात जिल्लाका ३१ हजार ८०० घरपरिवारलाई स्वास्थ्य, सरसफाइ, सुधारिएको चुलो र ओढ्ने ओछ्याउने सामग्रीसहितको प्याकेज वितरण गरिएको थियो ।

सन् २०१७ को मध्य नोभेम्बरदेखि सन् २०१८ फेबु्रअरीसम्म तीन महिनाको अवधिमा बाढीपीडितको पहिचानदेखि राहत सामग्री वितरणसम्मको कार्य सम्पन्न भएको आज यहाँ आयोजित कार्यक्रम समापनका अवसरमा जानकारी दिइयो ।

यस वर्षको वर्षायाममा बाढीबाट तराईका १८ जिल्लाका १३४ जनाको मृत्यु हुनाका साथै झण्डै दुई लाख घरमा क्षति हुँदा करिब १७ लाख बासिन्दा प्रत्यक्ष प्रभावित बनेका थिए ।

समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ र युुएनडिपीका राष्ट्रिय निर्देशक रेनउ मेयरले कार्यक्रम सम्पन्न भएको पत्र आदानप्रदान गरेका थिए ।