समाचार

आगलागीबाट एक बालकको मृत्यु

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ ।

स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो ।

आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए । आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिए ।

स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् ।