स्वास्थ्य

स्वास्थ्य चौकीको भवनका लागि पचास लाखको जग्गा दान

बनेपा, काभ्रे । बनेपा नगरपालिका–१२ निवासी समाजसेवीद्वय जगन्नाथ केसी र पद्म केसीले स्थानीय महेन्द्रज्योति स्वास्थ्य चौकीको भवनका लागि एक रोपनी चारआना जग्गादान गरेका छन् ।

स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करिब रु ५० लाख रहेको छ । उनीहरुले नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामार्फत स्वास्थ्य चौकीका लागि जग्गादान गरेका हुन् ।

उनीहरुले दान गरेको जग्गामा नेपाल रेडक्रस सोसाइटीले कोरियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य चौकीको नयाँ प्री फ्याव भवन, स्वास्थ्यकर्मीका लागि आवश्यक आवास भवन निर्माण एवं उपकरणको सहयोग गरिदिएको छ ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जय थापाले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठलाई नवनिर्मित सो भवनको साँचो हालै हस्तान्तरण गरे । भवन हन्तान्तरण समारोहमा प्रदेशसभा सदस्य वसुन्धरा हुमागाई सहित मेयर श्रेष्ठ र अध्यक्ष थापाले जग्गादाताद्वयलाई विशेष सम्मान गरेका थिए ।

सम्मानित जगन्नाथ केसीले मानवीय सेवाको सर्वोच्च संस्थामार्फत मानवीय सेवाका लागि जग्गादान गर्नपाउनु आफ्नो लागि गौरव बनेको चर्चा गर्दै बाँच्नभन्दा बचाउन ठूलो, गर्नभन्दा गराउनु ठूलो रहेको विचार राखे ।

महेन्द्रज्योति स्वास्थ्य चौकीका प्रमुख सिनियरअहेव राजेन्द्र फैजुले भवन अपांङ, महिलामैत्री बनेकामा खुशी व्यक्त गर्दै छिट्टै चौकीले प्रयोगशाला, बर्थिङ र टेन्टल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।