पर्यटन/संस्कृति

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरिने

कञ्चनपुर । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेदकोट नगरपालिकामा प्रस्तावित छेला औद्योगिक क्षेत्र स्थापना र सुख्खा बन्दरगाह निर्माणको कार्य पूरा भएसँगै आर्थिक रुपमा प्रदेश सबल बन्ने बताएका छन् ।

बेदकोट नगरपालिकाको घटाल थानमा आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उनले औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाह निर्माणको काम अगाडि बढिसकेकाले यसलाई समयमै पूरा गर्न सबैको सहयोगको खाँचो औँल्याए ।

दैजी–बुडर सडक, लिंगा, वेदकोट, मणिकाधाम, साकेतधाम, ब्रम्हदेवलगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने उनको भनाइ थियो । “जडीबुटी र वन पैदावारको संरक्षणका लागि काम अगाडि बढाइन्छ”–उनले भने, “कृषि, जडीबुटी र वन पैदावारमा आधारित उद्योग सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी दिइने छ ।”