शिक्षा

स्थानीय निकायमा शिक्षाका कर्मचारी गएनन्

ललितपुर । शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् ।

शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताए । जिल्लामा एउटा महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत र चारजना स्रोत व्यक्ति गएका थिए । उनी भनछन्, “तीमध्ये उपसचिव फिर्ता भएको र अधिकृतलाई हाजिर गराएनन् ।”

गोदावरी नगरपालिकामा एकजना अधिकृत र तीनजना स्रोत व्यक्ति गएको पोखरेलले बताए । महालक्ष्मी नगरपालिकामा एकजना स्रोत व्यक्ति गएका छन् । कोञ्जेसोम, वाग्मती र महाँकाल गाउँपालिकामा एकजना पनि शिक्षाका कर्मचारी छैनन् । उनी भन्छन्, “एक त कतिमा कर्मचारी नै छैनन् भने गएका पनि फर्किएका छन् ।” शिक्षाका कर्मचारी नहुँदा शिक्षाको बजेट अरुमा नै खर्च हुन थालेको छ ।

शिक्षाका कर्मचारी समायोजन प्रक्रियामा असहमत हुँदा स्थानीय निकायमा नगएका हुन् । गएका कर्मचारीसमेत काम गर्ने वातावरण नहुँदा फर्किएको पोखरेल बताउछन् । उनी भन्छन्, “बस्ने कोठा वा कुर्सीसमेत स्थानीय निकायले व्यवस्था गरेका छैनन् ।”

अहिले जिल्ला शिक्षा कार्यालयले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय, प्रयोगशालालगायतका थोरै कार्यक्रममात्रै सञ्चालन गरेको छ ।