राजनीति

नेपाललाई नहेप्न प्रधानमन्त्री ओलीले ईयूलाई दिए यस्तो कडा चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको भावना, मर्म र प्रावधानलाई होच्याउने गरी सार्वजनिक गरिएको युरोपेली सङ्घ(इयु)को निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन सच्याउन आग्रह गरेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आज आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले निर्वाचन पर्यवेक्षणका नाममा इयुले नेपालको संविधानका भावनामा आँच पु¥याउने गरी प्रतिवेदन ल्याएको जनाउँदै भने, “नेपाललाई होच्याएको हो ? हेपेको हो ? मैले र नेपाली जनताले हेपिएको महसुस गरेका छौँ, इयुलाई विनम्रतापूर्वक आग्रह गर्छु, यसलाई तुरुन्त सच्याउनुस् ।”

पर्यवेक्षणका नाममा आई धर्म प्रचार गर्ने र त्यसको प्रतिशोध प्रतिवेदनमा लिन नहुने बताउँदै उनले नेपाल सामाजिक न्याय र समानताका लागि काम गर्ने सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको हुँदा कुनै भ्रम नपाल्न उनले आग्रह गरे ।

तत्कालीन सरकार निर्वाचन गराउन तत्पर नभएका अवस्थामा निर्वाचन आयोगको भूमिका प्रशंसनीय छ भन्दै उनले नेपाली जनताले सचेततापूर्ण र बलिदानीपूर्ण योगदानका कारण मुलुकमा अहिलेको अवस्था आउन सफल भएको बताए।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन हुने/नहुने दुविधाका बीचमा ११ महिनाका अवधिमा विभिन्न समस्या हुँदा पनि आठ निर्वाचन सम्पन्न गर्न सफल भएको बताए ।

नियोकका अध्यक्ष हिमालयशम्शेर जबराले निर्वाचनमा मतदान शिक्षा कमजोर भएको र गोप्य मतदान भनिए तापनि पैसा लिएर मत माग्ने काम भएको विचार व्यक्त गरे । संकल्पका महासचिव शोभा बस्नेतले अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीमैत्री खालको मतदानस्थल नभएको जनाउँदै आगामी दिनमा त्यसलाई ध्यान दिनुपर्नेमा जोड दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गरेका थिए ।