स्वास्थ्य

अझै सञ्चालनमा आएन रक्त सञ्चार केन्द्र

इलाम । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाममा रहेको रक्त सञ्चार केन्द्र आर्थिक अभाबका कारणसञ्चालनमा आउन सकेको छैन ।
रक्त सञ्चार केन्द्रमा काम गर्ने कर्मचारीका लागि आर्थिक स्रोत जुटाउन नसक्दा लामो समयसम्म सो केन्द्र सञ्चालन हुन नसकेको हो ।
विभिन्न दाताबाट संकलित रु २८ लाख २६ हजारको लागतमा नारायणस्थानमा सो केन्द्र निर्माण गरिएपनि कतिपय दाताले कबोलेको रकम नदिँदा सेवा उपलब्ध गराउन कठिन भएको बताइएको छ ।

रेडक्रसका संयोजक रतन चौधरीले भने, “दाताले कबोलेको रकम नदिँदा रक्त संकलनमा निकै कठिन भएको थियो तर पनि आवश्यकता बढ्दै गएकाले चाँडै सञ्चालनको तयारीमा छौँ ।” ब्लड बैंकका लागि जर्मन दूतावासले रु १४ लाख १८ हजार बराबरको सामग्री उपलब्ध गराएको थियो ।

एक प्राविधिकसहित दुईजना कर्मचारी अनिवार्य राख्नु पर्ने र तिनलाई तलब उपलब्ध गराउन रकमको अभाव छ । “कबोल गरेर नदिएको रकम रु सात लाख हाराहारीमा छ”, रेडक्रसका कोषाध्यक्ष विजय कार्कीले भने, “सबै रकम आउने हो भने सेवा सञ्चालन हुने थियो ।” केन्द्र सञ्चालनका लागि कम्तीमा रु ५० लाखको अक्षयकोष आवश्यकता भए पनि हाल कोषमा करीब रु आठ लाखमात्र संकलन भएको रेडक्रस सभापति देवीप्रसाद गौतमले बताए ।

जिल्लामा हाल मासिक २० युनिट रगतको आवश्यकता रहेकामा अस्पतालको क्षमता विस्तारसंगै त्यो भन्दा बढी रगत खपत हुने देख्छि । हाल रक्तदानबाट संकलन भएको रगत झापा, धरान र विराटनगरमा पठाइने गरेको छ ।

गर्भपतन गराउने बढे

सुरक्षित प्रसूति गराउनेभन्दा गर्भपतन गराउनेको संख्या धेरै रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार तीन आर्थिक वर्षमा चार हजार ८०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका र चार हजार १५४ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् ।

सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि सुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका दीपेन्द्र आचार्यले बताए । उनका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्षमाथिका चार हजार ३२२ जना र २० वर्षमुनिका ४८३ जना रहेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा एक हजार १७४ जना, २०७२÷७३ मा एक हजार ८१५ जना र २०७३÷७४ मा एक हजार ८१६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै आव २०७१÷७२ मा एक हजार ४७० जना, आव २०७२÷७३ मा एक हजार २८८ जना, आव २०७३÷७४ मा एक हजार ३९६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । इलामका विभिन्न स्थानका २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरले सुरक्षित गर्भपतन सेवा दिँदै आइरहेका छन् ।