शिक्षा

सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो

रोल्पा । आवश्यक सेवासुविधा उपलब्ध नहुँदा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको रोल्पाका अपांग विद्यार्थीले गुनासो गरेका छन् ।
यहाँ २०६० सालदेखि दृष्टिविहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गरेका छन् । विशेष कक्षा सञ्चालन गरेको बालकल्याण नमूना माविमा हाल १२ दृष्टिविहीन र १३ सुस्त श्रवणले अध्ययन गरिरहेका छन् । यसैगरी कृष्ण आधारभूत विद्यालय धारापानीमा चार जना सुस्त मनस्थितिका विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

शुरुमा खरिद गरेका सामग्रीबाटै काम चलाउने गरेको बताउँदै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नभए कक्षा सञ्चालन गर्न कठिन हुने बताएका छन् । सरकारी स्तरबाट अध्ययन र बासस्थानका लागि प्रतिविद्यार्थी प्रतिमहिना चार हजार र औषधोपचारका लागि एक हजार २०० उपलब्ध हुँदै आएको भए पनि सो रकम अपुग भएको अपांग विद्यार्थीले बताएका छन् ।

कक्षा सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीको सेवासुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह गरेका हुन् । अपांगता भएका व्यक्तिलाई संगठित गर्दै हकअधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने माग राखिएको छ ।

अपांगता भएका विद्यार्थीले उचित वातावरणमा अध्ययन गर्न नपाएको दृष्टिविहीन विद्यार्थी चित्रवहादुर डाँगीले गुनासो गरे । “अपांग मैत्री कक्षा कोठाको अभावका साथै पाठ्यसामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छौँ”, डाँगीले भन्नुभयोने । विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुन सक्ने विशेष कक्षा शिक्षक लक्ष्मीनारायण आचार्यले बताए । “उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव छ”, आचार्यले भने । थप दिगो र व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्न स्रोत शिक्षक आचार्यले आग्रह गरे ।