पर्यटन/संस्कृति

आदिनाथको मूर्तिलाई खटजात्रा गरियो

काठमाडौँ । काठमाडौँको दक्षिण भेगस्थित चोभारमा रहेको आदिनाथको मूर्तिलाई खटजात्रा गरिएको छ । प्रत्येक वर्ष चैते दशैँका दिन उक्त मूर्तिलाई मन्दिरबाट निकालेर नख्खु दोभानसम्म करीव तीन किलोमिटरको दूरीमा जात्रा गरिन्छ । उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा त्यस आसपास क्षेत्रबाट ठूलो संख्यामा भक्तजनको उपस्थिति छ । उक्त मूर्तिमा शिव र पार्वतीको संयुक्त आकृति देख्न सकिन्छ भने नर र नारीको आदिस्वरुप मूर्तिमा प्रतिबिम्बित भएकाले आदिनाथ भनिएको हो ।

प्राचीन समयमा चोभारमा रोगब्याधीले स्थानीयवासीलाई समस्या भइरहेको बेलामा उक्त मूर्तिलाई ग्वाला (गाई चराउने)हरुले नख्खु दोभानमा चैते दशैँका दिन फेला पारेपछि चोभार डाँडामा प्रतिस्थापन गरिएको हुँदा गाउँलेले अनिष्टबाट मुक्ति पाएको जनविश्वास रहेको पुजारी सरोज शाक्यले जानकारी दिए ।

सोही दिनको सम्झनामा प्रत्येक वर्ष आजका दिन मूर्तिलाई खटजात्रा गरिन्छ । असोज शुक्ल पूर्णिमादेखि एक महिना कात्तिक शुक्ल पूर्णिमासम्म उक्त मन्दिरमा आदिनाथको मेला लाग्ने गर्दछ । जात्रामा सहभागी भएमा कुनै पनि रोग नलाग्ने, पारिवारिक सुख, शान्ति भई समृद्धि हुने विश्वास छ । मन्दिरबाट मूर्ति निकाल्नका लागि स्थानीय देवदेवीसँग अनुमति लिन अघिल्लो दिन त्यहाँ क्षमा पूजा गरिएको थियो ।