पर्यटन/संस्कृति

‘मिनी जहाज’ बनाउन लागेका चेपाङलाई सहयोग

रत्ननगर, चितवन । । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् ।

पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत उनलाई उपलब्ध गराइएको छ । उनको जहाज बनाउने सपना साकार पार्न यसरी रकम सहयोग गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए ।

यसअघि राप्ती नगरपालिका–२ घर भएका २० वर्षीय चेपाङको मिनी एयर क्राफ्ट बनाउने सपना साकार पार्न भन्दै राप्ती नगरपालिकाले रु ८० हजार रकम दिने निर्णय गरेको नगरपालिकाकी प्रमुख प्रभा बरालले बताए । उनकै पहलमा सरोज चेपाङ प्रतिभा संरक्षण समितिसमेत बनाइएको छ ।

यसअघि फोब्स कलेजले पनि उनको योजना सफल बनाउन भन्दै रु १० हजार सहयोग गरेको थियो । सोही क्षेत्रका स्थानीयवासीसमेत रहेका प्रदेश नं ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले प्रदेशको मन्त्रिपरिषद् बैठकमा उनको विषय उठाउने प्रतिबद्धता जनाउँदै भने, “उनका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार छ ।” सरोजले फागुन ४ गते करिब ४० मिनेट आकाशमा प्यारामोटर उडाएर सफल परीक्षण गरेका थिए । करीव रु १० लाख भए सानो हवाइजहाज उडाएर देखाउने सरोजले बताए ।

कार्यक्रममा सरोज चेपाङ प्रतिभा संरक्षण समितिका अध्यक्ष श्यामसुन्दर उप्रेतीले आफूहरु उनका लागि माध्यम मात्रै बनेको भन्दै आएको सबै पैसा उनको जहाज बनाउने काममा नै खर्च गरिने बताए । यस्ता चेपाङको प्रतिभालाई अगाडि बढाउन सबैको सहयोग आवश्यक भएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापाको भनाइ छ । कक्षा ६ सम्म मात्रै अध्ययन गरेका सरोजले यसअघि मिनी प्लेन निर्माणका लागि चार–पाँच लाख खर्च गरिसकेका छन् ।